

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई तत्काल हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
मन्त्री घिसिङको सचिवालयका अनुसार, जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरूप देखिएकाले सकारात्मक सन्देश दिन ती साधन हटाइने छन् । उनले भने, “कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरूप हुन दिनुभएन । क्षति भएका सवारीसाधन तत्काल हटाएर व्यवस्थापन गरौँ ।”
त्यस्तै, उनले विनाशबाट उठ्ने सन्देश दिन सामान्य आगलागी भएका भवनका बाहिरी भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा क्षति भएका सवारीसाधन हटाउने र क्षतिको मूल्यांकन तत्काल गर्न निर्देशन दिएका छन् ।
मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गरिने जानकारी दिए ।
सहरी विकास मन्त्रालयले मातहतका संरचनामा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।