समृद्धिका लागि प्रदेश र स्थानीय सरकार साझा सङ्कल्पसहित अघि बढ्छ

समृद्धिका लागि प्रदेश र स्थानीय सरकार साझा सङ्कल्पसहित अघि बढ्छ

बुटवल, ८ असोज । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विधि र प्रक्रियाबाट सङ्घीयताका विषय टुङ्गो लागेपछि फेरि पुरानै मुद्दालाई बोकेर रोइलो गर्नु लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ ।

रुपन्देही व्यापार सङ्घको १७ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै भन्नुभयो, “सङ्घीयताअनुसारको संरचना स्थापित भएको सात महिना नहुँदै समीक्षा गरेर निष्कर्ष निकाल्नु गलत संस्कार हो ।”

मुख्यमन्त्री पोखरेलले तीन प्रतिशतको आर्थिक वृद्धिदरलाई वर्तमान सरकारले छ प्रतिशतमा पुर्याएको उल्लेख गर्दै आगामी दुई वर्षमा मुलुकको आर्थिक वृद्धिदर दोहोरो अङ्कमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले व्यावसायिक हितमा गरेका निर्णयका विरुद्धमा साङ्गठनिकरुपमा विरोधको अभियान थालिएको बताउँदै उहाँले व्यावसायिक वातावरण बनाउन सरकारले स्पष्ट नीति निर्माणमा जोड दिएको छ भन्नुभयो ।

मुख्यमन्त्री पोखरेलले व्यापार र उद्यमशीलता एकआपसमा परिपूरक भएको उल्लेख गर्दै व्यापारलाई उद्यमशीलतासंग जोड्न आग्रह गर्नुभयो । कृषि उत्पादनलाई बजारसँग जोडेर यस क्षेत्रको व्यवसायिक विकासमा प्रदेश सरकारले जोड दिएको बताउँदै उहाँले भन्नुभयो, “यस प्रदेशको कृषि उत्पादनले सिङ्गो देशको आवश्यकता परिपूर्ति गर्नेगरी अगाडि बढ्नुपर्दछ ।”

मुख्यमन्त्री पोखरेलले प्रदेशमा दोहोरो करको अवस्था आउन नदिन सरकार गम्भीर छ, यसका लागि सरोकारवाला सबै पक्षसंग छलफल भइरहेको जानकारी दिदै प्रदेश र स्थानीय सरकार साझा सङ्कल्पसहित अघि बढ्ने बताउनुभयो ।

सङ्घका अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, सैनामैना व्यापार सङ्घका अध्यक्ष जीवनाथ पाण्डे, सङ्घका पूर्वअध्यक्ष टङ्क पोख्रेल, नेपाली काँग्रेसका विष्णु पोख्रेल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव दीपक पौडेल, पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष नीरु गौतमलगायतले समसमायिक बिषयवस्तुमाथि प्रकाश पार्नुभयो । रासस