

काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले रिपोर्टर्स क्लबमा गरेको पत्रकार सम्मेलन अचानक हंगामामै अन्त्य भएको छ।
मृतकको परिवारसँग बसेर मिडियासँग कुरा गरिरहेका गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरूले तीव्र प्रश्न सोध्दा झण्डै हातहालाहालको अवस्था सिर्जना भएको थियो।
एक प्रश्नकर्ताले सोधे, “५१ जनाको ज्यान गएर आएको परिवर्तन के यही ६ महिनाको अन्तरिम सरकारका लागि हो? प्रत्यक्ष कार्यकारी मुद्दा कहाँ कार्यान्वयन भयो? सदन विघटन गर्दा के हासिल भयो?”
यसमा प्रतिक्रिया दिँदै गुरुङले भने, “त्यो तपाईं नै भन्नुस्। हामी फेरि आन्दोलन गर्छौं, नेताहरुलाई आउनै दिन्नौं, घरबाट निस्कनै दिन्नौं।”
प्रश्नले गुरुङलाई आक्रोशित बनायो र उनले चिच्याउँदै भने, “८० वर्षको इतिहासमा परिवर्तन भएको छ, के यो परिवर्तन होइन? आगलागी हामीले गरेको होइन, अन्त्य मात्र गरिदिएको हो।”
उनको तीव्र अभिव्यक्तिपछि प्रेसमिटमा उपस्थितहरू आ–आफ्नै स्वरमा चिच्याउन थाले र वातावरण तनावग्रस्त भएको कारण गुरुङ पोडियम छोडेर बाहिरिएका थिए।