आइतबारदेखि सर्वोच्च अदालत आंशिक रूपमा संचालनमा आउने

आइतबारदेखि सर्वोच्च अदालत आंशिक रूपमा संचालनमा आउने

काठमाडौं । जेन-जी आन्दोलनकारीको प्रदर्शनपछि तोडफोड र आगजनीमा परेको सर्वोच्च अदालतले आइतबारदेखि सेवा आंशिक रूपमा संचालन गर्ने भएको छ।

सर्वोच्चका सबै न्यायाधीश सहभागी आकस्मिक पूर्ण बैठक (फुल कोर्ट)ले २०८२ भदौ २९ गतेदेखि बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता र सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो। गत मंगलबार भएको तोडफोडपछि सर्वोच्च अदालतको सम्पूर्ण सेवा अवरुद्ध भएको थियो।

बैठकपछि जारी विज्ञप्तिमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट न्यायालयका भवनमा पुगेको क्षति र न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू नष्ट हुन गएकोप्रति गहिरो दुःख प्रकट गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वाह गर्दै, नागरिकको मौलिक अधिकार र न्याय प्राप्तिको सुनिश्चितता कायम राख्न अदालत आफ्नो दायित्वमा अविचलित रहनेछ।”

सर्वोच्चले आंशिक सेवापछि अन्य नियमित कामकाज पनि क्रमशः संचालनमा ल्याइने जनाएको छ।