

काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी पुस्ताले थालेको आन्दोलनमा मृतकको संख्या ३४ पुगेको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार, देशभरका विभिन्न अस्पतालमा उपचाररतहरूमध्ये हालसम्म ३४ जनाको मृत्यु पुष्टि भएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म १ हजार ३६८ जना घाइते भएका छन्। तीमध्ये ३२१ जना अझै अस्पतालमा उपचाररत छन् भने ९४९ जना डिस्चार्ज भइसकेका छन्।
मृतकमध्ये काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, बयोधा अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, इलाम अस्पतालमा १ र बिएनसी अस्पतालमा १ जना रहेका मन्त्रालयले जनाएको छ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि प्रहरीसँग झडप भएको थियो। त्यस क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको प्रदर्शनकारीहरूको आरोप छ। गोली लागेका धेरैलाई सहकर्मीहरूले तत्कालै अस्पताल पुर्याएका थिए, जसमा कतिपयको बाटैमा वा उपचारकै क्रममा ज्यान गएको हो।