

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबारको जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।
एक विज्ञप्ति जारी गर्दै उनले एमालेसँगको सहकार्यलाई निरन्तरता दिने औचित्य नरहेको उल्लेख गर्दै वर्तमान गठबन्धन सरकारलाई पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्।
थापाले आन्दोलन नियन्त्रण गर्ने नाममा सरकारले गरेको बल प्रयोग, दमन र आक्रमण अक्षम्य रहेको बताए। गृहमन्त्रीले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिइसकेको अवस्थामामा प्रधानमन्त्रीले समेत जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ।
उनले तत्काल भ्रष्टाचार नियन्त्रण र सुशासन सुनिश्चित गर्न २०४६ सालपछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेका छन्।
त्यसैगरी, उनले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धलाई असंवैधानिक र अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भन्दै खारेज गर्न सरकारसँग आग्रह गरेका छन्। कांग्रेस महामन्त्री थापाले युवा आन्दोलनका मागहरू जनताको सरोकारसँग प्रत्यक्ष जोडिएका मुद्दा भएकाले सरकार संवादमार्फत समाधानमा उन्मुख हुनुपर्नेमा जोड दिएका छन्।