कर्फ्यु अवज्ञा गर्दै संसद भवनअगाडि जेन-जी युवाहरू प्रदर्शनमा

कर्फ्यु अवज्ञा गर्दै संसद भवनअगाडि जेन-जी युवाहरू प्रदर्शनमा

काठमाडौँ । सरकारले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै नयाँ पुस्ताका (जेन-जी) युवाहरू आज बिहानैदेखि पुनः सडकमा उत्रिएका छन्। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि भेला भएका उनीहरूले सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्। हिजोको घटनामा १९ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरू नयाँ बानेश्वरस्थित संसद भवन अगाडि भेला भई सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।

सुरक्षा व्यवस्थाको कडाइ

नयाँ बानेश्वर क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाक्लो सुरक्षा घेरा कायम गरेका छन्। संसद भवन परिसरमा तारबार तानेर प्रवेश नाकाहरू बन्द गरिएका छन्। सेनाले हतियारसहित संसद भवन वरिपरिको निगरानी बढाएको छ भने प्रहरी र सशस्त्रले चक्रपथभरि चेकजाँचलाई कडाइ गरेका छन्।

सडकको अवस्था

संसद भवनदेखि तिनकुने, पुरानो बानेश्वर, मिनभवन हुँदै कोटेश्वरसम्म सडकमा सर्वसाधारणको आवतजावत न्यून छ। कर्फ्युका कारण सवारी साधन चल्न पाएका छैनन्। सडकमा प्रहरीको बाक्लो उपस्थिति देखिन्छ भने कैयौँ ठाउँमा पानीका फोहरा र अश्रुग्यासका गाडी तयारी अवस्थामा राखिएका छन्।

प्रदर्शनकारीहरूको नारा–जुलुस

प्रदर्शनकारीहरूले ‘सामाजिक सञ्जाल बन्द गर्ने निर्णय खारेज गर’, ‘हत्या गर्ने सरकार चाहिँदैन’, ‘हामी जनताको आवाज हो’, ‘गोली होइन, रोजगारी दे’ जस्ता नारा लगाइरहेका छन्। कतिपय युवाहरूले हातमा प्लेकार्ड बोकेका छन् भने कतिपयले गीत गाएर आक्रोश व्यक्त गरिरहेका छन्।

प्रशासनको आदेश र अवज्ञा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ८:३० बजेदेखि चक्रपथ भित्र अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरेको छ। आदेशले सभा, जुलुस, भेला वा कुनै गतिविधि गर्न पूर्ण निषेध गरे पनि प्रदर्शनकारीहरूले आदेशको अवज्ञा गर्दै विरोध जारी राखेका छन्। अहिले संसद भवन वरपरको वातावरण अत्यन्तै तनावग्रस्त देखिन्छ भने थप झडप हुने आशंका कायमै छ।