सरकारको काम प्रभावकारी बनाउन सक्ने पार्टी बलियो हुन्छ : शंकर पोखरेल

सरकारको काम प्रभावकारी बनाउन सक्ने पार्टी बलियो हुन्छ : शंकर पोखरेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले सरकारका कामलाई जनस्तरमा पुर्‍याउन सक्दा मात्रै पार्टी बलियो हुने बताएका छन्।

ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी एमालेको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिँदै महासचिव पोखरेलले वडातहबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिए। उनले वडाबाट काम सुरु हुँदा प्रत्यक्ष रूपमा प्रभाव देखिने उल्लेख पनि गरे।

पार्टीको नेतृत्व व्यवस्थापनबारे पोखरेलले भने, ‘जुन कमिटीबाट बिदा वा प्रवेश भएको हो, त्यसले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्छ। युवा र जनसङ्गठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने आवश्यकता छ।’

महासचिवले ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व कम रहेको र महिला सदस्यता पनि ३३ प्रतिशत सुनिश्चित भएपनि पार्टीमा २६ प्रतिशत मात्रै रहेको बताए। उनले सदस्य विस्तार नगरिकन सक्षम नेतृत्व निर्माण असम्भव रहेको पनि उल्लेख गरे।

पार्टी नेताको जीवनशैली सरल हुनुपर्नेमा उनले जोड दिए। २०४३ सालमा स्ववियु निर्वाचनमा पार्टीले मोटरसाइकल उपलब्ध गराउँदा खुसी लागेको प्रसङ्ग सम्झँदै, अहिले नेताको तडकभडक जीवनशैलीले जनताले निगरानी गरिरहेको बताए।

महासचिवले समूह नेताबाट आएका लिखित प्रस्तावलाई साङ्गठनिक प्रतिवेदनमा समेट्ने र बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीको सुझाव अनुसार प्रतिवेदन पारित गरिने जानकारी दिए। उनले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सैद्धान्तिक भएकाले आवश्यक परे थप छलफल गरेर केही हेरफेर हुने तर विधान संशोधन प्रस्ताव महाधिवेशनबाट पारित हुनुपर्नेमा जोड दिए।