आजदेखि सोह्रश्राद्ध सुरु

आजदेखि सोह्रश्राद्ध सुरु

काठमाडौं । आजदेखि सोह्रश्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ। १५ दिनसम्म चल्ने यस पक्षमा स्वर्गीय भइसकेका पूर्वजलाई पिण्डदान र तर्पण गर्ने धार्मिक परम्परा रही आएको छ।

वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार चाडपर्व, यज्ञादि वा ठूला कार्य अघि पितृलाई श्रद्धा र भक्तिसाथ सम्झिने प्रचलन छ। आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो।

धार्मिक मान्यताअनुसार पितृलाई प्रसन्न पार्न, अज्ञानवश गरिएको अनादरप्रति क्षमा माग्न र कृतज्ञता प्रकट गर्न यो श्राद्ध गरिन्छ। यस अवधिमा पिण्डदान, तर्पण तथा सिधादानमार्फत पूर्वजप्रति श्रद्धा अर्पण गरिन्छ।

विशेषगरी बुवा स्वर्गीय भएकाहरूले यस पर्वमा कुश, तील, जौ र फुली लिएर पोखरीमा पूजा गर्ने परम्परा छ। जनविश्वासअनुसार पितृलाई तर्पण दिँदा उनीहरूको आत्माले शान्ति प्राप्त गर्ने मान्यता छ।