

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी सुरु गरेको छ। पार्टीले वर्षायाम र चाडबाड सकिएपछि सडक आन्दोलनको रणनीति तय गरेको हो।
बिहीबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “सरकारले जनताको माग सम्बोधन गरेको छैन। सुशासन कमजोर भएको छ र भ्रष्टाचार झन् बढेको छ। यी परिस्थितिमा सडक संघर्षको तयारी आवश्यक छ।”
सापकोटाका अनुसार सडक संघर्षमा पार्टीले तत्कालीन कार्यनीतिक र रणनीतिक विषयहरू पनि उठाउनेछ। यसले संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र समाजवाद उन्मुख राज्यव्यवस्थाका स्वरूपहरूमा जनमत सिर्जना गर्ने उद्देश्य राखेको छ।
बैठकले मध्यपहाडी लोकमार्गमा २१ भदौदेखि पार्टीको अभियान पुनः सुरु गर्ने निर्णय गरेको छ।
त्यस्तै, पार्टीको अनुशासन र गुट–उपगुट अन्त्य गर्ने विषयमा छलफल भए पनि त्यसबारे कुनै निर्णय गरिएको छैन।