संसदीय सुनुवाइ समिति सभापति निर्वाचन भोलि

संसदीय सुनुवाइ समिति सभापति निर्वाचन भोलि

काठमाडौं । संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिको निर्वाचन भोलि (शुक्रबार) हुने भएको छ । निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता हुने र भोलि साँझ ५ बजे मतदान गरिने समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिएकी छन् ।

समितिको सभापति पद भदौ १० गतेदेखि रिक्त छ । तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि पद खाली भएको हो । उनी त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति बनेकी छन् ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीमा रिक्त पद पूर्तिको प्रावधान नहुँदा प्रतिनिधि सभा नियमावलीको आधार लिइएको हो । प्रतिनिधि सभा नियमावलीको नियम १७७ को उपनियम ५ अनुसार सभापति पद रिक्त भएमा १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

त्यसैअनुसार सुनुवाइ समिति सभापति पदको निर्वाचन तोकिएको मितिभित्रै सम्पन्न गर्न लागिएको हो ।