नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले लगाए दर्ज्यानी चिह्न

नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिह्न लगाएर पदभार ग्रहण गरेका छन् ।

भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई १९ भदौदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न लगाइदिए ।

निवर्तमान प्रहरी महानिरीक्षक दिपक थापाले भदौ १८ गते मध्यरातदेखि अवकाश पाएसँगै खापुङले प्रहरी संगठनको कमाण्ड सम्हालेका हुन् । दर्ज्यानी चिह्न लगाएपछि उनले प्रहरी प्रधान कार्यालय नक्शाल पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

उनको कार्यकालमा नयाँ प्रहरी ऐन जारी भए सेवाअवधि हालको प्रावधानअनुसार ६ महिना थपिन सक्नेछ । तर ऐन जारी नभए ३० वर्षे सेवा अवधिका कारण खापुङ आगामी कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन् ।