

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले आज देशभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको विभागले जानकारी दिएको छ।
आज दिउँसो कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौंमा पनि दिउँसो १२ बजेपछि हल्का वर्षा पर्न सक्ने देखिन्छ। उनले दिउँसो र राति काठमाडौं उपत्यका बदली भई हल्का वर्षा हुने सम्भावना रहेको बताइन्।
राति देशभर सामान्यतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान विभागले गरेको छ।