

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक लगातार दोस्रो दिन पनि घटेको छ। आइतबार नेप्से ३१.१७ अंकले ओरालो लाग्दै २७४९.८३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ५.०३ अंक, फ्लोट इन्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८४ अंकले घटेका छन्।
कारोबार रकममा पनि कमी आएको छ। बिहीबार ८ अर्बभन्दा बढीको कारोबार भएकोमा आइतबार ३२१ स्टकको ९७ हजार १७४ पटकको कारोबारमार्फत ६ अर्ब ६ करोड १८ लाख रुपैयाँबराबरको १ करोड ४८ लाख कित्ता शेयर मात्रै किनबेच भयो।
यस दिन उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य ६.७७ प्रतिशतले उकालो लाग्दै सर्वाधिक बढ्यो। आशा लघुवित्त ४ प्रतिशतभन्दा बढीले बढ्दा अन्य बढेका कम्पनीहरूको वृद्धि दर भने ४ प्रतिशतभन्दा कम रह्यो। ग्लोबल आइएमई समुन्नत योजना-२ को इकाई भने नकारात्मक सर्किटमा पुगेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो। यस कम्पनीको करिब ४५ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसैगरी हिमालयन रि–इन्स्योरेन्सको करिब २९ करोड र हिमालयन डिष्टिलरीको २६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो।
उपसमूहतर्फ आइतबार सबै १३ वटा परिसूचक राताम्याँ भए। जसमध्ये विकास बैंक उपसमूह १.५९ प्रतिशतले सर्वाधिक घट्यो। त्यस्तै, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूह १ प्रतिशतभन्दा बढीले तल झरे।