धरानमा एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा

धरानमा एमालेकाे बहिष्कारपछि हर्क साम्पाङले अल्पमतबाटै गरे बजेट पारितको घोषणा

विराटनगर । आन्तरिक विवादकै कारण दुई महिना ढिलो भएको धरान उपमहानगरपालिकाको बजेट एमालेको बहिष्कारबीच अल्पमत सदस्यहरूको उपस्थितिमा पारित भएको दाबी गरिएको छ ।

आइतबार मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, कांग्रेस, माओवादी र राप्रपाका जनप्रतिनिधिहरूले संयुक्त रूपमा बजेट अनुमोदन भएको घोषणा गरे । तर शुक्रबार बसेको कार्यपालिका बैठकमा भने सहमति जुट्न सकेको थिएन ।

एमाले नगर कार्यदलका प्रमुख सचेतक अनुप देवान र धरान–१० का वडाध्यक्ष विवेक राईले बजेट पुनर्लेखनको मागसहित ५ बुँदे ज्ञापन बुझाएर बैठक बहिष्कार गरेका थिए । मेयर साम्पाङका अनुसार १५ जना सदस्य बैठक छाडेर निस्किए पनि बाँकी ११ सदस्यको उपस्थितिमा बजेट पारित भएको हो ।

एमालेले प्रस्तुत ५ बुँदे ज्ञापनमा घाटा बजेट अस्वीकार्य भएको, करको दर अत्यधिक बढाइएको, राजश्व परामर्श समितिको रायविपरीत एकलौटी निर्णय गरिएको र मेयर–उपमेयर कोष लगायतका अबण्डा कोष खारेज गर्नुपर्ने माग राखेको छ ।

राजश्व परामर्श समितिले १ अर्ब ६० करोडको सीमा तोके पनि स्रोत अनुमान र सिलिङ समितिले २ अर्ब २० करोडको बजेट प्रस्ताव गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।