

काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक आकांक्षीहरूले पार्टी सभापति रवि लामिछानेलाई भेट गरेका छन्। पार्टीले उम्मेदवार घोषणा गर्नुअघि उनीहरू ललितपुरस्थित नख्खु कारागार पुगेका हुन्।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई केही समयअघि मात्र भैरहवा कारागारबाट नख्खु सारिएको हो। रास्वपाले आजै सचिवालय बैठकपछि उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। आकांक्षीहरूले उम्मेदवार टुंगो लगाउनु अघिनै सभापतिलाई भेटेर आफ्नो धारणा राखेका हुन्।
रुपन्देही–३ बाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन्। तीमध्ये केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन्। कुसुम, मधु, सुलभ र जीतबहादुरबाहेकका पाँच जना भैरहवाका हुन्।
रुपन्देही–३ बाट निर्वाचित राप्रपाका सांसद दीपक बोहराको निधनपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।