सुदूरपश्चिममा गौरापर्वको मुख्य दिन ‘दुर्वाष्टमी’ धुमधामसहित मनाइँदै

सुदूरपश्चिममा गौरापर्वको मुख्य दिन ‘दुर्वाष्टमी’ धुमधामसहित मनाइँदै

बैतडी । सुदूरपश्चिम प्रदेशभर आज गौरापर्वको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली धुमधामका साथ मनाइँदैछ। हिजो साँझ गौराघरमा भित्र्याइएको गौरालाई आज बिहान बर्तालु महिलाले गौरामन्दिरको गौराखलामा पुगी सामूहिक पूजा गर्ने परम्परा रहेको पण्डित जयानन्द भट्टले बताए।

यस दिन महिलाले बिरुडाले दिनभर फाग गाउँदै गौरादेवीको पूजन गर्ने गर्दछन्। पाँच थरिका अन्न मिसाएर चढाइने बिरुडा यस पर्वको मुख्य प्रसाद मानिन्छ। हिजो चढाइएको दुबधागो आज महिलाले धारण गर्ने परम्परा छ, जसलाई पुरुषहरूले जनै धारण गरेजस्तै मानिन्छ।

गौरालाई सिँगारेर गौराखलामा लैजाने र त्यहाँ सामूहिक रूपमा अठ्यावाली गाउँदै पूजन गर्ने प्रथा छ। पूजापछि प्रसाद स्वरूपको बिरुडा श्रीमान्, सन्तान र आफन्तजनको दीर्घायुका लागि टाउकोमा पुजिने गरिन्छ। यसैबीच पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत सांस्कृतिक खेल खेल्दै पर्व मनाउँछन्।

आचार्य विष्णुदत्त भट्टका अनुसार महिलाले अटल सौभाग्य, समृद्धि, सन्तान सुख र पारिवारिक शान्तिका लागि यस व्रत बस्ने विश्वास छ। सुदूरपश्चिमेलीहरूले गौरालाई दसैँभन्दा पनि बढी महत्वका साथ मनाउने भएकाले यस अवसरमा परदेशिएकाहरू समेत घर फर्किने गर्दछन्। विवाहित चेलीहरू पनि माइत आउने प्रचलन रहिआएको छ।

यसैबीच गौरापर्वको अवसरमा प्रदेशभर आइतबार (भदौ १५) र सोमबार (भदौ १६) दुई दिन सार्वजनिक बिदा दिइएको छ। संघीय सरकारले आइतबार र प्रदेश सरकारले सोमबार बिदा दिएको हो।