आसामविरुद्ध वर्षाले अवरुद्ध खेलमा नेपाल ‘ए’ पराजित

आसामविरुद्ध वर्षाले अवरुद्ध खेलमा नेपाल ‘ए’ पराजित

काठमाडौं : भारतको आसाम स्टेट टोलीसँगको पाँच खेलको टी–२० सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ टोली पराजित भएको छ। बिहीबार गुवाहाटीमा भएको खेलमा आसामले डिएसएल मेथडमार्फत १५ रनको जित निकाल्यो।

पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ८ विकेट गुमाउँदै १९० रनको बलियो योगफल तयार गर्‍यो। कप्तान तथा विकेटकिपर सुमित झाडीगाओकरले ३४ रन, सुमित कश्यपले २२ रन र अभिनव चौधरीले नटआउट २६ रनको योगदान गरे। नेपालका आकाश चन्दले ३ विकेट लिँदा कमलसिंह ऐरी र विवेककुमार यादवले समान २–२ विकेट लिए। आदिल अन्सारीले १ विकेट हात पारे भने सागर ढकाल र बसिर अहमद विकेट विहीन रहे।

१९१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपाल ८ ओभरमा ३ विकेटको क्षतिमा ६४ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रोकियो। पछि खेल पुनः सुरु हुन नसकेपछि डिएसएल गणनाअनुसार आसाम १५ रनले विजयी भयो।

नेपालका लागि शुभ कंसाकार ३३ रन बनाएर खेलिरहेका थिए भने सन्दीप जोरा २ रनमा क्रिजमा थिए। ओपनर इशान पाण्डे १ रनमा, कप्तान अनिल साह २० रनमा र पवन सर्राफ ६ रनमा आउट भए।

सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ भने लगातार खेलिँदै सोमबारसम्म पाँच खेलको यो सिरिज सम्पन्न हुनेछ।