

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभाव स्वरूप कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। यस अवधिमा ती प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। यस क्रममा देशका पहाडी भूभागका धेरै स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागसहित लुम्बिनी र कोशी प्रदेशको तराईका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।