

रुपन्देही । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो रिहाइ माग गर्दै दिएको निवेदनमाथि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा आज सुनुवाइ हुँदैछ।
उच्च अदालतका न्यायाधीश सागर विष्टको इजलासमा पेसी परेको यो निवेदन, जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते पेश गरिएको हो।
सहकारी ठगीमा रविसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ। रविले आफ्नो भागको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित दाखिला गरेका थिए। तर जिल्ला अदालतले उनको भागमा कति बिगो कायम हुने निश्चित नभएको भन्दै रिहा नगर्ने आदेश दिएको थियो।
यसअघि जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो, तर उच्च तथा सर्वोच्च अदालतबाट थुनामै राख्ने आदेश जारी भएका कारण पुनः थुनामा राख्ने वा नराख्ने विषयमा अदालत प्रवेश गर्न नमिल्ने भनिएको थियो।
मुद्दाको प्रकृति विचार गर्दै छिटो र छरितो निरुपण गर्न उचित देखिएपछि जिल्ला अदालतले यथाशिघ्र कार्यवाही गर्न निर्देशन दिएको थियो। रवि हाल ललितपुरको नख्खु कारागारमा छन्।