

मुम्बई । चर्चित फिल्म निर्माता–अभिनेता राकेश रोशनको घर फराह खानले भ्रमण गरेकी छिन्। यस अवसरमा उनले राकेश रोशनसँग उनका निर्देशन करियर र फिल्मसँग सम्बन्धित कथाहरूमा कुराकानी गरेकी छिन्।
राकेश रोशनले कृष फिल्मको चर्चित वैक्स मास्कको पछाडि लुकेको रोचक रहस्य पनि सार्वजनिक गरेका छन्। उनका अनुसार, “यो मास्क बनाउन सजिलो थिएन। मास्कको डिजाइनमा त्यति धेरै हेरचाह गरिएको थियो कि सेटमा ऋतिक रोशनभन्दा बढी हेरचाह मास्कको गरिएको थियो। निर्माणमा ६ महिना खर्च भयो। मास्क, आउटफिट र अन्य सबै विवरणमा अत्यधिक ध्यान दिइयो ताकि कृषको प्रतिष्ठित लुक उत्कृष्ट देखियोस्।”
विशेष कुरा यो थियो कि मास्क मौरीको ‘मैन’ ले बनेको हुनाले गर्मीमा पग्लिने खतरा थियो। सुटिङका क्रममा सेटमा २४ घण्टा एसी बसको व्यवस्था गरिएको थियो।
त्यसैगरी, राकेश रोशनले कृष ४ मा सुपरस्टार ऋतिक रोशनले नायक मात्र नभई निर्देशकको भूमिका पनि निर्वाह गर्ने जानकारी दिएका छन्। यशराज फिल्म्स र राकेश रोशनको ब्यानरमा निर्माण हुने यो फिल्मको अर्को भाग सन् २०२६ को शुरुमा सुरु गर्ने योजना रहेको बताइएको छ।