श्रीदेवीको सम्पत्तिमा अवैध कब्जाको दाबी, बोनी कपूर उच्च अदालतमा

श्रीदेवीको सम्पत्तिमा अवैध कब्जाको दाबी, बोनी कपूर उच्च अदालतमा

हैदाराबाद । बलिउड निर्माता बोनी कपूरले आफ्नी दिवंगत पत्नी तथा अभिनेत्री श्रीदेवीको चेन्नईस्थित सम्पत्तिमा तीन जनाले अवैध कब्जा गरेको भन्दै मद्रास उच्च अदालतमा याचिका दायर गरेका छन्।

उनले ती तीन जनामाथि ठगीको आरोप लगाउँदै अदालतलाई जानकारी दिएका छन् कि श्रीदेवीले सन् १९८८ अप्रिल १९ मा सम्बान्द मुदलियारबाट उक्त सम्पत्ति खरिद गरेकी थिइन्। मुदलियारका तीन छोरा र दुई छोरीले सन् १९६० मा आपसी सम्झौतामार्फत सम्पत्ति बाँडफाँड गरेका थिए र त्यसकै आधारमा श्रीदेवीले खरिद गरेको दाबी गरिएको छ।

तर पछिल्लो समयमा तीन व्यक्तिले सम्पत्तिमाथि दाबी प्रस्तुत गरेका छन्। तीमध्ये एक जना मुदलियारका छोरामध्ये एकको दोस्रो पत्नी भएको दाबी गर्ने महिला हुन् भने बाँकी दुई जना उनका छोरा हुन्। बोनी कपूरले भने सो महिला दोस्रो पत्नी नै नहुने दाबी गरेका छन्, किनभने उनले सन् १९७५ मा विवाह गरेको बताइए पनि मुदलियारका छोरा–छोरीकी आमा १९९० मा मात्र निधन भएकी थिइन्।

बोनी कपूरले उनीहरूलाई जारी गरिएको कानूनी उत्तराधिकार प्रमाणपत्र अमान्य घोषित गर्न माग गरेका छन्। उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायमूर्ति एन आनन्द वेंकटेशले ताम्बरम तालुक तहसीलदारलाई चार हप्ताभित्र निर्णय लिन आदेश दिएका छन्। श्रीदेवीको विवादित सम्पत्ति चेन्नईको ईस्ट कोस्ट रोडमा रहेको बताइएको छ।