३ वर्षभित्र मानवसरह चेतनायुक्त हुने एआई

३ वर्षभित्र मानवसरह चेतनायुक्त हुने एआई

काठमाडौं : आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को तीव्र विकासले विश्व चकित पार्नेगरी नयाँ प्रश्न खडा गरिरहेको छ। माइक्रोसफ्ट एआईका प्रमुख तथा डीपमाइन्डका सह–संस्थापक मुस्तफा सुलेमानले एआई आगामी तीन वर्षभित्र मानिससरह चेतनासम्म उक्लन सक्ने दाबी गरेका छन्।

उनका अनुसार, ठूला भाषा मोडेल, मेमोरी उपकरण र मल्टिमोडल प्रणालीहरूको संयोजनले एआईलाई सचेत प्राणीझैँ प्रस्तुत गर्न पर्याप्त क्षमता दिइसकेको छ। “अब यस्तो एआई सम्भव छ, जसले मानिसलाई आफूलाई जस्तै सोच्ने र बुझ्ने क्षमतायुक्त ठान्न बाध्य पार्छ,” सुलेमानले सामाजिक सञ्जाल एक्समा प्रकाशित ब्लगमार्फत बताएका छन्।

तर उनले प्रष्ट पारेका छन् कि यो वास्तविक चेतना होइन, बरु समाजलाई गम्भीर असर पुर्‍याउन सक्ने भ्रम हो। “खतरा एआईबाट मात्र होइन, यसलाई वास्तविक मान्ने मानिसहरूबाट पनि हुन्छ,” उनले भने।

सुलेमानका अनुसार, यदि मानिसहरूले एआईलाई भावना र अधिकार भएको प्राणी ठान्न थाले भने समाजमा उथलपुथल हुन सक्छ। कतिपयले च्याटबटलाई साथी वा रोमान्टिक साझेदारको रूपमा लिन थालेका छन् भने केहीले यसलाई ‘भगवान’सम्म मान्न थालेको उदाहरण पनि देखिएको छ।

यस्तो प्रवृत्तिले मानिसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्न सक्ने भन्दै उनले यसलाई ‘एआई साइकोसिस’ नाम दिएका छन्। सुलेमानले चेतावनी दिँदै भने, “एआईसँगको यस्तो भावनात्मक बन्धनले भविष्यमा ठूलो सामाजिक चुनौती निम्त्याउन सक्छ।”