

काठमाडौं । शुक्रबार तीन नेपाली फिल्म एकसाथ रिलिज भएका छन्। ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’, ‘माग्ने राजा’ र ‘ताराहरू’ सिनेमा हलमा प्रदर्शनमा आएका हुन्।
पहिलो दिन मल्टिप्लेक्स हलहरूले ‘जनै हराएको मान्छे’ र ‘माग्ने राजा’लाई पर्याप्त शो उपलब्ध गराए पनि ‘ताराहरू’लाई भने औसत शो दिइएको छ। यद्यपि, यी फिल्महरूको वास्तविक व्यापार दर्शकको वर्ड अफ माउथ प्रतिक्रियामा निर्भर रहने देखिन्छ।
हिमाल न्यौपाने निर्देशित ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ ले कोरिया जान संघर्षरत युवाको कथा प्रस्तुत गर्छ। फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्। ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ पछि मुख्य भूमिकामा देखिएको यो उनको पहिलो फिल्म हो। विजयसँगै केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगरले अभिनय गरेका छन्। पेपरक्लिप ब्यानरमा बनेको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।
आशान्त शर्मा निर्देशित ‘ताराहरू’ ले मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेको छ। फिल्ममा शर्मासहित मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय छ। गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा फिल्मका निर्माता हुन्। कथा निर्देशक शर्माकै लेखनी हो।
ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’ मा केदार घिमिरे (माग्ने बुढा) पहिलोपटक मुख्य भूमिकामा देखिएका छन्। मुनाल घिमिरे निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीले छायांकन गरेका छन् भने कथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन्। आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मले पनि राम्रो शो पाएको छ।