पाकिस्तानलाई इंगित गर्दै मोदीको चेतावनी- ‘आणविक धम्की सहँदैनौं’

पाकिस्तानलाई इंगित गर्दै मोदीको चेतावनी- ‘आणविक धम्की सहँदैनौं’

नयाँ दिल्ली: भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई लक्षित गर्दै भारत अब आणविक धम्की र ब्ल्याकमेल सहँदैन भन्ने कडा चेतावनी दिएका छन्।

सम्बोधनमा उनले अपरेसन सिन्दूरमा सहभागी सुरक्षाकर्मीहरूको बहादुरीको प्रशंसा गर्दै भने, “हाम्रा वीर जवानहरूले शत्रुलाई उनीहरूको कल्पनाभन्दा बाहिरको दण्ड दिएका छन्।” उनले स्पष्ट रूपमा भारतको सुरक्षा नीति अब धम्की सहनेतर्फ होइन, निर्णायक कारबाहीतर्फ केन्द्रित हुने बताए।

मोदीले जम्मु–कश्मीरको पहलगाममा आतंककारीहरूले धर्म सोधीसोधी निर्दोष नागरिकको हत्या गरेको घटनालाई स्मरण गर्दै भने, “श्रीमान्लाई श्रीमतीका अगाडि, बुबालाई छोराछोरीका अगाडि मारियो। यस्तो नरसंहारले पूरा भारत क्रोधले भरिएको छ।”

उनका अनुसार अपरेसन सिन्दूर यही जनक्रोधको अभिव्यक्ति हो, जसले आतंकवादविरुद्ध कठोर सन्देश दिएको छ।

यो चेतावनी पाकिस्तानले अगस्ट १४ मा आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा भारततर्फ लक्षित ‘आर्मी रकेट फोर्स कमान्ड’ घोषणा गरेको भोलिपल्ट आएको हो।