रुपन्देही-३ अपडेट: उपनिर्वाचनमा २७ दलले दर्ता गराए निवेदन

रुपन्देही-३ अपडेट: उपनिर्वाचनमा २७ दलले दर्ता गराए निवेदन

काठमाडौं । रुपन्देही–३ मा प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। आयोगका अनुसार साउन २१ देखि २७ गतेसम्मका लागि तोकिएको म्यादभित्र २८ वटा निवेदन प्राप्त भएका छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्रको आन्तरिक विवादका कारण दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गरेका छन्। संरक्षक रेशमलाल चौधरी पक्षका रामलाल डगौराले साउन २३ गते निवेदन दर्ता गरेका थिए भने अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम दिन साउन २७ गते निवेदन दर्ता गरेकी थिइन्। निर्वाचन आयोगले रञ्जितालाई नै अध्यक्ष मान्ने निर्णय गरिसकेकाले डगौराको निवेदन स्वतः खारेज हुने बताइएको छ।

तराई-मधेशका दलहरूले एउटै मोर्चा बनाएर चुनाव लड्ने सहमति गरेको भए पनि आन्तरिक विवादका कारण जनमत पार्टीले पनि स्वतन्त्र रुपमा निवेदन दर्ता गराएको छ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा लगायतका दलले पनि निवेदन दिएका छन्।

निर्वाचन आयोगले भदौ १ गते स्वीकृत दलहरूको नामावली प्रकाशन गर्नेछ। रुपन्देही–३ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचन आगामी कात्तिक १७ गते हुनेछ भने उम्मेदवारी दर्ता असोज २१ गते खुल्नेछ। यो उपनिर्वाचन राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराको निधनपछि रिक्त भएको ठाउँमा हुन लागेको हो।