कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध सुमार्गीले दिए काठमाडौं सिडिओ कार्यालयमा निवेदन

  • 5
    Shares
कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध सुमार्गीले दिए काठमाडौं सिडिओ कार्यालयमा निवेदन

उद्योगी अजेयराज सुमार्गीले जिउ धन र शान्ति सुरक्षा गरी पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन्।

कान्तिपुर मिडिया ग्रुपका ंअध्यक्ष कैलाश सिरोहियाले आफूलाई सिध्याउने धम्की दिएको भन्दै आफूमाथि जुनसुकै बेला आक्रमण हुन सक्ने भएकाले जिउधनको सुरक्षा गरी पाऊँ भन्दै सुमार्गीले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सेतोपाटीसँग कुरा गर्दै सुमार्गीले निवेदन दिएको पुष्टि गरे।

‘अजेय सुमार्गीलाई सुरक्षा थ्रेट भएको पाटो हामी हेर्छौं,’ उनले भने, ‘अब यस विषयमा प्रहरीले अनुसन्धान गर्छ। तर सुमार्गी र सिरोहियाबीचको विवाद भने हामीलाई हेर्ने अधिकार छैन।’
निवेदनमा सुमार्गीले काठमाडौंको तिनुकनेमा रहेको जग्गाबारेको विवाद उल्लेख गरेका छन्। सिरोहियालाई आर्थिक संकट पर्दा उनकै आग्रहमा तिनकुनेको जग्गा ४ वर्षअघि २३ करोड २१ लाख १२ हजार रुपैयाँमा मुक्ति श्री सिमेन्ट इन्डष्ट्रिज प्रालिले किनेको सुमार्गीले बताएका छन्। यो सुमार्गीले चलाएको कम्पनी हो।

आर्थिक स्थिति सबल भएपछि सिरोहियाले सो जग्गा आफूले किनेकै मूल्यमा फिर्ता मागेपछि विवाद भएको सुमार्गीले निवेदनमा उल्लेख गरेका छन्।

किनेकै मुल्यमा जग्गा फेरि बेच्नुपर्ने सरोहियाको कुरा आफूले नमानेपछि उनले सिध्याउने धम्की दिएको सुमार्गीको दाबी छ।

आफूले जग्गा फिर्ता नगरेपछि सिरोहियाले उनीद्वारा सञ्चालित सबै मिडियामा आफूविरुद्ध समाचार सम्प्रेषण गर्दै आएको सुमार्गीले आरोप लगाएका छन्।

पछिल्लो समय आफूलाई बदनाम गर्न सुमार्गीको २२ अर्ब अवैध शीर्षकमा समाचार छापेर आफू र परिवारका सदस्यलाई मानसिक रुपमा प्रताडित गरेको सुमार्गीले निवेदनमा लेखेका छन्।

सिरोहियाको सिध्याउने धम्कीपछि सुमार्गीले जतिबेला पनि आफू र आफ्ना परिवारमाथि आक्रमण हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको मुक्ति श्री मुक्ति सिमेन्ट इन्डष्ट्रिज प्रालिका कानुनी सल्लाहकार समिर सिलवालले सेतोपाटीलाई जानकारी दिए।

‘सुमार्गीवरुद्ध निराधार समाचार सम्प्रेषण गरेपछि हामीले सिडिओ कार्यालयका साथै प्रेस काउन्सिलमा पनि निवेदन दिएका छौं,’ सिलवालले भने, ‘अदालत पनि जाने तयारीमा छौं।’

सिरोहियाले भने सुमार्गीलाई सिध्याउने धम्की दिएको भन्ने आरोप झुठो भएको बताएका छन्।

‘मेरो र सुमार्गीको भेट र बोलचाल नभएको ३ वर्ष भयो,’ सेतोपाटीसँग कुरा गर्दै सिराहियाले भने, ‘हा,े मैले सुमार्गीजीलाई जग्गा बेचेको हो, बेचेको जग्गा म किन फिर्ता मागुँ।’

सिडिओ कार्यालय गएर सुमार्गीले आफूविरुद्ध निवेदन दिनु नौटकी बाहेक केही नभएको सिरोहियाले बताए।

‘सुमार्गीको २२ अर्ब अवैध’ भन्ने समाचार सम्पत्ति शुद्धिकरण र प्रहरीले गरेको प्रतिवेदनअनुसार प्रकाशित गरेको सिरोहियाले दाबी गरे।सेतोपाटीबाट