

काठमाडौं : ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.०९ प्रतिशतले बढी हो। अघिल्लो आवमा बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, यस अवधिमा खुद ब्याज आम्दानी १६ अर्ब ७१ करोड २२ लाख रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब २२ करोड २० लाख रुपैयाँ भएको छ। सञ्चालन आम्दानी २१ अर्ब २७ करोड ६४ लाख रुपैयाँ पुगेको छ।
प्रतिशेयर आम्दानी रु १६.२८, प्रतिशेयर कूल सम्पत्ति रु १,८०९.६१ र प्रतिशेयर नेटवर्थ रु १७७.६३ रहेको छ। वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ छ, जुन अघिल्लो वर्षको ५० करोड ६७ लाख रुपैयाँभन्दा धेरै हो। बैंकको लाभांश क्षमता १४.११ प्रतिशत रहेको छ।
बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा २४ अर्ब २१ करोड रुपैयाँ छ। गत वर्षमा बैंकले ५ खर्ब ६२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब ७९ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा अनुपात ४.८७ प्रतिशत रहेको छ।