

हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज विश्वासको मत लिन तयारी अवस्थामा छन्।
२० साउनमा नियुक्त भएका कांग्रेस प्रदेश सभा सदस्य बानियाँ आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्ताव पारित गराउँदै मुख्यमन्त्री बनेका हुन्।
विश्वासको मतका लागि आज दिउँसो ४ बजे प्रदेश सभा बैठक बोलाइएको छ। संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली २०७४ को नियम १४३(१) अनुसार बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई बानियाँको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन्।
प्रदेश सभाको एक कर्मचारीले भने, “आजको बैठकमा मत विभाजनको सम्भावना न्यून देखिन्छ, तर विपक्षी दलको रणनीति अन्तिम क्षणमा मात्र प्रस्ट हुनेछ।”