

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सन्तानको आमा नै पहिलो संरक्षक भएकाले आमाको स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था विधेयकमार्फत अघि बढाइएको बताएका छन्।
उनका अनुसार बुवाको पत्ता नलाग्ने वा ल्याउन नसक्ने अवस्थामा आमाले स्वघोषणा गरेपछि सन्तानलाई नागरिकता उपलब्ध गराइनेछ। तर, यदि आमाको स्वघोषणा गलत प्रमाणित भएमा नागरिकतासम्बन्धी प्रश्न गर्न सकिने र सजायको व्यवस्था समेत गरिएको छ।
सांसदहरूले आमाको थरबाट नागरिकता लिँदा पैतृक सम्पत्तिमा असर पर्न सक्ने आशंका व्यक्त गरेपछि मन्त्री लेखकले यसले पैतृक सम्पत्तिबाट वञ्चित हुनुपर्ने अवस्था नआउने स्पष्ट पारे।
ब्रिटिस गोर्खाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने विषय संवेदनशील रहेको उल्लेख गर्दै उनले यसका लागि संविधान संशोधन आवश्यक पर्न सक्ने धारणा राखेका छन्।
त्यस्तै, अंगीकृत नेपाली नागरिकताको हकमा हाल बाबुको आधारमा मात्र विदेशको नागरिकता नलिएको भनी स्वघोषणा गर्ने व्यवस्था रहेकामा अब आमाले पनि त्यस्तै स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा समावेश गरिएको उनले जानकारी दिएका छन्।