

बुटवल । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले रुपन्देही कारागारमा अनुगमन गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको कोठामा वातानुकूलित एसी नभएको र झ्याल प्लाईउडले टालेर बन्द गरिएको पत्ता लगाएका छन्।
आयोगकी प्रवक्ता लिली थापाका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन्। पर्याप्त शौचालयको अभाव छ भने भएका शौचालयहरूको अवस्था पनि सन्तोषजनक छैन। उनले लामिछाने रहेको ब्लकको झ्याल टालिएकाले हावा आवतजावत सहज नभएको बताइन्।
थापाले थप विवरण दिँदै कोठामा एउटा चाइनिज पंखा र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो पंखा मात्र रहेको उल्लेख गरिन्। कारागार प्रशासनले सुरक्षाका कारण झ्याल बन्द गरिएको भए पनि आयोगको अनुरोधपछि खोल्न तयार भएको जानकारी दिइएको उनले बताइन्।