

धनगढी । कैदीबन्दीबीचको झडपपछि तनावग्रस्त भएको कैलाली कारागारमा शनिबारदेखि सुरक्षाकर्मी प्रवेश गर्न सकेका थिएनन्। तर आइतबार अपराह्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार आयोग, धनगढीको रोहवरमा हतियारसहित कारागारभित्र प्रवेश गरेको छ।
घटनापछि कैदीबन्दीहरूले थुनुवा कक्षमा भित्रबाट ताला लगाएर पूर्ण रूपमा नियन्त्रण लिएका थिए र कसैलाई प्रवेश दिनका लागि राजी थिएनन्। करीब ४० घण्टा पछि सुरक्षाकर्मीले ब्लक ए र ब्लक बीमा प्रवेश गरी भित्रको अवस्था बारे खोजतलास थालेका छन्। एक जनाको मृत्यु र ४९ जना घाइते भएका हिंसात्मक घटनापछि पनि कारागारको स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
साथै, कारागारमा रहेका कैदीबन्दीको संख्या पनि अस्पष्ट भएकाले सुरक्षाकर्मीहरूले कैदीबन्दीको गणना गर्ने तयारीमा छन्।
स्थिति अझै तनावपूर्ण रहेको कैलाली कारागारमा सुरक्षा र व्यवस्थापनका चुनौतीहरू कायमै रहेका छन्।