कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा, स्थिति तनावग्रस्त

कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा, स्थिति तनावग्रस्त

धनगढी : कैलाली कारागारमा शुक्रबार राति भएको झडपपछि कैदीबन्दीहरूले कारागार पूर्ण रूपमा नियन्त्रणमा लिएका छन्। झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु र ४७ जना घाइते भएपछि उत्पन्न परिस्थितिमा कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन्। उनीहरूले कोही प्रवेश गर्न खोजे सिलिन्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन्।

सुरक्षा निकायका अनुसार अहिले कारागारभित्रको स्थिति नियन्त्रणबाहिर छ र सुरक्षाकर्मी भित्र प्रवेश गर्न नसकेको कारण वास्तविक क्षतिको विवरण अझै उपलब्ध छैन।

गृहमन्त्रीको आपतकालीन बैठक
गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई छलफल गरेका छन्। बैठकमा कारागारको तनावपूर्ण अवस्थाबारे मूल्यांकन र समाधानका उपायबारे विचारविमर्श भएको बताइएको छ।

छानबिन समिति गठन
जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
समितिमा प्रहरी नायव उपरीक्षक राजकुमार सिंह (नेपाल प्रहरी), प्रहरी नायव उपरीक्षक जनकराज पन्त (सशस्त्र प्रहरी), अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

यस घटनाले क्षेत्रीय सुरक्षामा ठूलो चुनौती खडा गरेको छ र स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको जनाइएको छ।