घोडा दौडमा गाउँपालिका अध्यक्ष बिष्ट च्याम्पियन

घोडा दौडमा गाउँपालिका अध्यक्ष बिष्ट च्याम्पियन

मुक्तिनाथ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित हिन्दू तथा बौद्धमार्गीहरूको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा सांस्कृतिक महत्वको ‘यार्तुङ’ पर्व धुमधामका साथ मनाइएको छ। पर्वको मुख्य आकर्षण मानिने कदम घोडा दौड प्रतियोगितामा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्ट विजयी बनेका छन्।

जनप्रिय युवा क्लब पुराङ–रानीपौवाले संरक्षण र प्रचारप्रसारका उद्देश्यले आयोजना गरेको प्रतियोगितामा बिष्टको ‘ङाङ्प’ घोडाले प्रथम स्थान हासिल गर्‍यो। मनाङका कान्छा गुरुङको ‘क्याङ्प’ घोडा दोस्रो र मनाङकै खुशी गुरुङको ‘स्हाक्प’ तेस्रो भए। विजेताले क्रमशः १ लाख ५० हजार, ८० हजार र ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे।

कदम घोडा दौडमा घोडाको सिंगार, जातीय मौलिकता र कुद्ने शैलीको आधारमा मूल्याङ्कन गरिन्छ। पछिल्ला वर्षहरूमा जनशक्ति अभावका कारण लोपोन्मुख अवस्थामा पुगेको यो प्रतिस्पर्धा अघिल्लो वर्ष पुनः सुरु गरिएको हो।

प्रतियोगिताका विजेतालाई सम्मान गर्दै मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचनले यस्ता सांस्कृतिक पर्वहरू मुस्ताङको पहिचान भएको र युवा पुस्ताले पुर्खाको सम्पदा जोगाउन अग्रसर हुनुपर्ने बताए। उनका अनुसार घोडा केवल यातायातको साधन मात्र नभई शक्ति, दृढता र सांस्कृतिक गर्वको प्रतीक हो।

जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले यार्तुङ पर्वले परम्परा मात्र जोगाएको छैन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याइरहेको बताए। पर्वको अवसरमा घोडा दौडसँगै तारा खेल, फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र मौलिक भेषभूषाको प्रदर्शनजस्ता विविध गतिविधिहरू आयोजना गरिन्छ।