दोस्रो संस्करणको एनपीएल क्रिकेटका लागि आज अक्सन, ३७ खेलाडीमा मात्र बोली लाग्ने

दोस्रो संस्करणको एनपीएल क्रिकेटका लागि आज अक्सन, ३७ खेलाडीमा मात्र बोली लाग्ने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका खेलाडी छनोटका लागि आज दिउँसो तीन बजेदेखि अक्सन हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार अक्सनका लागि १५० खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ।

यसअघि ४५८ खेलाडीले नाम दर्ता गराएका थिए, जसबाट छनोट गरी अन्तिम सूची तयार गरिएको हो। आठ टोली सहभागी एनपीएलमा इच्छुक खेलाडी क्यानको प्राविधिक टोलीको मापदण्डअनुसार छनोट भएका छन्।

खेलाडीहरूलाई तीन श्रेणीमा विभाजन गरिएको छ— श्रेणी ‘ए’ मा ८ जना, ‘बी’ मा ३५ जना र ‘सी’ मा १०७ जना। यीमध्ये ३७ खेलाडीमा मात्र आज बोली लाग्नेछ। यसपटक टोलीहरूले आवश्यकताअनुसार जुनसुकै ग्रेडका खेलाडी खरिद गर्न पाउनेछन्।

प्रतियोगितामा हरेक टोलीले अधिकतम ९० लाख रुपैयाँसम्म खेलाडी खरिदमा खर्च गर्न पाउने प्रावधान छ। क्यानसँगको सम्झौताअनुसार रिटेन खेलाडीको मूल्यमा १० प्रतिशत वृद्धि हुनेछ भने रिलिज तथा नयाँ खेलाडीको न्यूनतम मूल्य ‘ए’ ग्रेडमा १० लाख, ‘बी’ ग्रेडमा ५ लाख र ‘सी’ ग्रेडमा २ लाख तोकिएको छ।