तुर्कमेनिस्तानबाट प्रधानमन्त्री ओली स्वदेश फर्किए

तुर्कमेनिस्तानबाट प्रधानमन्त्री ओली स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन्।

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली साउन २० गते त्यसतर्फ प्रस्थान गरेका थिए। ‘अवाजा’ शहरमा साउन २० देखि २३ गतेसम्म चलेको सम्मेलनमा उनले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका हैसियतमा सम्बोधन गरेका थिए।

कार्यक्रमअन्तर्गत उनले एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्दै विभिन्न सत्रमा विचार प्रस्तुत गरेका थिए। एशिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सहभागिता रहेको सम्मेलनमा समुद्रमा प्रत्यक्ष पहुँचको अभाव, पारवहन प्रक्रियाका चुनौती, अपर्याप्त पूर्वाधार र उच्च लागतजस्ता विषयमा विस्तृत छलफल भएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनको मूल उद्देश्य भूपरिवेष्ठित देशहरूको अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु, रणनीतिक साझेदारी बढाउनु र लगानीमार्फत यातायात तथा पूर्वाधार सुधार गर्नु रहेको छ।

सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख, संयुक्त राष्ट्रसङ्घका पदाधिकारी तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। सहभागी राष्ट्रहरूले दिगो विकास लक्ष्य हासिल गर्न आपसी सहकार्य र साझा अवसरको उपयोग गर्नुपर्नेमा जोड दिएका थिए।

यसअघि, दोस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सन् २०१४ नोभेम्बर ३–५ मा अस्ट्रियाको भियनामा भएको थियो, जसमा ‘अल्माटी कार्ययोजना’ कार्यान्वयनको समीक्षा र नयाँ चुनौतीको सामना गर्न सहकार्यका विषयमा छलफल गरिएको थियो।