

काठमाडौं । आज साउन शुक्ल पूर्णिमाका अवसरमा देशभर रक्षाबन्धन र जनै पूर्णिमा (ऋषितर्पणी) पर्व धार्मिक उत्साहका साथ मनाइँदैछ। वैदिक सनातन परम्परा अनुसार भक्तजनहरूले बिहानैदेखि नदी, ताल, पोखरी र कुण्डमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रसहित रक्षासूत्र (डोरो) र नयाँ यज्ञोपवीत धारण गरेका छन्।
तागाधारी समुदायका मानिसहरूले आज आफ्नो जनै फेरेका छन् भने अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा र तर्पण गरिएको छ। यसै कारण आजलाई ऋषितर्पणी पनि भनिन्छ। वैदिक मान्यता अनुसार मन्त्रिएको रक्षासूत्रले नकारात्मक शक्तिबाट रक्षा गर्ने विश्वास छ।
पशुपतिनाथ मन्दिर, वसन्तपुरको अशोकविनायक, बाग्मती नदी किनार लगायत काठमाडौं उपत्यकाका मठमन्दिरमा भक्तजनको भीड लागेको छ। त्यस्तै, मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, जुम्लाको दानसाधु र नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा मेला भरिएका छन्।
तराई क्षेत्रमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर पर्व मनाउने परम्परा रहिआएको छ, जसले आपसी प्रेम र सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिन्छ। पछिल्ला वर्षहरूमा यो प्रथा पहाडी क्षेत्रमा पनि फैलिन थालेको छ।