

काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलको ९०औं मिनेटमा शुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपाललाई तीन अंक दिलाइन्। उनले मिना देउवाको पासमा ट्याप इन गोल गरेकी हुन्।
खेलभर दुवै टिमले अवसर सिर्जना गरे पनि गोल गर्न सकेका थिएनन्। ३७औं मिनेटमा नेपालले पाएको पेनाल्टी अवसर पनि गुमेको थियो, जब मिना देउवाको प्रहार बारमा लागेर बाहिरियो।
पहिलो खेलमा नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो भने साउदी अरेबिया उत्तर कोरियासँग १५-० को भारी हार बेहोरेको थियो।
यो जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ। तर समूह विजेता बन्ने होडमा बलियो टोली उत्तर कोरियासँग आइतबार खेल्नुपर्ने चुनौती बाँकी छ।
प्रतियोगितामा हरेक समूहका विजेता तथा तीन उत्कृष्ट उपविजेता टिम एसियन कपको लागि छनोट हुनेछन्। नेपालको आशा अब अन्तिम खेलको नतिजामा निर्भर रहनेछ।