रास्वपाले सार्वजनिक गर्‍यो रुपन्देही–३ उपनिर्वाचनका लागि इच्छुक उम्मेदवारको नामावली

रास्वपाले सार्वजनिक गर्‍यो रुपन्देही–३ उपनिर्वाचनका लागि इच्छुक उम्मेदवारको नामावली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ।

बिहीबार पार्टीको आधिकारिक फेसबुक पेजमार्फत लाइभ गर्दै रास्वपाले ९ जना आवेदकको नामावली सार्वजनिक गरेको हो। साउन ७ गते बिहान १० बजेदेखि २१ गते साँझ ५ बजेसम्मको समयसीमामा उम्मेदवारीका लागि आवेदन मागिएको थियो।

उम्मेदवारको सूचीमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा. लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन्।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का पार्टी इन्चार्ज विपिन आचार्यका अनुसार उम्मेदवारीविरुद्ध दाबी–विरोध शुक्रबार बिहान १० बजेदेखि शनिबार बेलुका ५ बजेसम्म गर्न सकिनेछ। उजुरी केन्द्रीय निर्वाचन आयोगमा दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिनेछ भने साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ। त्यसपछि भदौ ११ गतेसम्म पार्टीले अपनाएको मूल्यांकन विधिअनुसार उम्मेदवारहरूलाई मापन गरिने र भदौ १२ गते बिहानदेखि साँझ ५ बजेसम्म प्रारम्भिक निर्वाचन हुने आचार्यले जानकारी दिए।