फोरमसँग छिट्टै पार्टी एकता : राजेन्द्र महतो

फोरमसँग छिट्टै पार्टी एकता : राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालबीच छिट्टै पार्टी एकता हुने स्पष्ट पारेका छन्।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुराको जानकारी दिएका हुन्। कार्यक्रममा बोल्दै उनले भने,‘राजपा र फोरमबीच एकता हुन्छ, यसमा कुनै दुई मत छैन, कुरा मिलेको दिन एकता हुन्छ, अहिलेको जनमत पनि दुई वटा पार्टी एकताको लागि नै हो, एकता अहिले हाम्रो प्राथमिकतामा छ।’

यसका साथै, उनले सरकार निर्माण आफ्नो पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट पारेको छ। महतोले मधेशी जनताको अधिकार प्राप्तिका लागि संविधान संशोधनको पक्षमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले सरकार निर्माणका विषयमा एमाले अध्यक्ष केपी ओलीसँग छलफल नगरिएको दाबी गरे। नेता महतोले संविधान संशोधन भएपछि मात्रै सरकारको विषयमा सोच्न सकिने स्पष्ट पारे। उनले संविधान संशोधनको पक्षमा उभिने दललाई सरकार बाहिरै रहेर पनि समर्थन गर्न सकिने योजना उनले सुनाए।

राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राखेकोमा असन्तुष्टि व्यक्त गर्दै आएको छ। नेता महतोले राष्ट्रपतिले अध्यादेश जारी नगर्दा मुलुकमा संवैधानिक जटिलता थपिएको तर्क समेत गरे।