पाँच वर्षभित्र प्रत्येक नागरिकलाई जोखिमको पूर्वसूचना सुनिश्चित गरिने : गृहमन्त्री लेखक

पाँच वर्षभित्र प्रत्येक नागरिकलाई जोखिमको पूर्वसूचना सुनिश्चित गरिने : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र मुलुकका सबै नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने सुनिश्चितता गरिने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री लेखकले एक तिहाइ नेपाली जनसंख्या अझै पनि प्रकृतिजन्य तथा जलवायुजन्य जोखिमहरूको पूर्वसूचनाबाट बाहिर रहेको उल्लेख गरे।

‘२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिन्छ,’ मन्त्री लेखकले भने, “हाल हामी अलिकति पछि परेका छौं, तर अबको पाँच वर्षभित्र हामी सबै नागरिकसम्म सूचना पुर्‍याउने लक्ष्यमा अघि बढिरहेका छौं।”

उनले संयुक्त राष्ट्रसंघले सन् २०२२ मा घोषणा गरेको २०२७ भित्र एक तिहाइ जोखिममा परेका जनतासम्म पूर्वसूचना पुर्‍याउनुपर्ने लक्ष्यलाई स्मरण गराउँदै नेपाल त्यसबाट प्रेरित भई कार्ययोजना बनाउँदै गएको जानकारी दिए।

मन्त्री लेखकले विश्वभरकै मनसुनजन्य जोखिममा परेका मानिसहरूमध्ये एक तिहाइ अझै पूर्वसूचनाबाट बञ्चित रहेको तथ्य प्रस्तुत गर्दै नेपालले त्यस चुनौतीलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताए।