पशुपतिनाथको वनकाली क्षेत्रमा महायज्ञ रोक्न सर्वोच्चमा रिट

पशुपतिनाथको वनकाली क्षेत्रमा महायज्ञ रोक्न सर्वोच्चमा रिट

काठमाडौं । पशुपतिनाथको वनकाली क्षेत्रमा कालिका साधनाश्रम, नेपाल नामक संस्थाले गरिरहेको दश महाविद्या रुद्रहवन महायज्ञ रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

वरिष्ठ अधिवक्ता पद्मप्रसाद खतिवडाले दायर गरेको उक्त रिटमा न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ।

रिट निवेदनमा धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्वको क्षेत्रमा जथाभावी खन्ने, सिमेन्ट र कंक्रिटका संरचना बनाउने र ध्वनि प्रदूषणजस्ता गतिविधिका कारण प्राचीन संरचनामा क्षति पुगेको उल्लेख गरिएको छ। यज्ञ सञ्चालनले वातावरणीय तथा सांस्कृतिक संवेदनशीलतामा आँच पुगेको भन्दै महायज्ञ तत्काल रोक्न माग गरिएको हो।

कालिका साधनाश्रमले साउन १४ देखि २४ गतेसम्मको लागि यज्ञ गर्न पशुपति क्षेत्र विकास कोषसँग अनुमति लिएको थियो। तर, सो अनुमति संविधान, प्राचीन स्मारक संरक्षण ऐन, २०१३, वातावरण संरक्षण ऐन, २०७६, पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ लगायत कानून र युनेस्को विश्व सम्पदा संरक्षण अभिसन्धिको मर्मविपरीत भएको रिटमा दाबी गरिएको छ।

रिटमा यज्ञ तत्काल रोक्नुपर्ने, यज्ञका लागि वनकाली क्षेत्रमा बनाइएका संरचनाहरू आयोजक संस्थाकै खर्चमा हटाउन लगाउनुपर्ने, खनिएका खाल्डा तथा कुण्ड तत्काल पुर्न लगाउनुपर्ने र क्षतिग्रस्त संरचनाहरू पूर्वस्थितिमा फर्काउनुपर्ने माग पनि गरिएको छ।