कोशी प्रदेशमा लम्पीस्किनको प्रकोप, ६ सय ३७ चौपाया मृत, झापा सबैभन्दा बढी प्रभावित

कोशी प्रदेशमा लम्पीस्किनको प्रकोप, ६ सय ३७ चौपाया मृत, झापा सबैभन्दा बढी प्रभावित

विराटनगर । कोशी प्रदेशमा लम्पीस्किन रोगको प्रकोप तीव्र रुपमा फैलिएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, विराटनगरका अनुसार हालसम्म ६ सय ३७ चौपाया यो रोगका कारण मरेका छन् भने २२ हजार १ सय २२ पशु बिरामी परेका छन् । रोगका कारण प्रदेशभर करिब १ अर्ब १ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

लम्पीस्किन रोगको सबैभन्दा बढी असर प्रदेशका तराई जिल्लाहरूमा देखिएको छ । विशेषगरी झापा, मोरङ, सुनसरी र उदयपुरमा रोग फैलिए पनि झापा सबैभन्दा बढी प्रभावित जिल्ला हो । झापामा मात्रै १४ हजार ६९२ पशुमा रोग देखिएको छ भने ४१० पशु चौपायाको मृत्यु भएको छ । त्यसपछि मोरङ, इलाम र सुनसरीमा रोगको प्रकोप बढ्दै गएको छ ।

पशुपन्छी निर्देशनालयका निर्देशक डा. सुशीलकुमार अधिकारीले कोशी प्रदेशमा लम्पीस्किन रोगबाट संक्रमित पशुहरुको मृत्युदर २.७ प्रतिशत रहेको जानकारी दिए । उनले रोग आंशिक रुपमा नियन्त्रणमा आइसकेको दाबी गर्दै भने, “रोगले दूध, मासु उत्पादन घटाउनुका साथै प्रजननमा असर गर्छ, छालाको गुणस्तर बिगार्छ र अन्ततः पशु मर्ने अवस्था आउँछ ।”

तीन वर्षअघि पनि यो रोगले प्रदेशमा तहल्का मच्याएको थियो । अघिल्लो वर्ष भने खोप कार्यक्रम प्रभावकारी भएकाले रोग नियन्त्रणमा आएको थियो । तर, यस वर्ष नियमित खोप कार्यक्रम सञ्चालन नहुनु र लम्पीस्किनलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश नगरिनुले रोग पुनः फैलिएको निर्देशनालयको ठहर छ ।

वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादवका अनुसार खोप कार्यक्रम समयमै सञ्चालन नभएकाले रोग फैलिएको हो । “लम्पीस्किन अझै पनि राष्ट्रिय खोप कार्यक्रममा पर्न सकेको छैन,” उनले भने, “गत वर्ष स्थानीय तहहरूले आफ्नै स्रोतबाट खोप लगाउँदा रोग नियन्त्रणमा थियो, तर यस वर्ष त्यो प्रयास नहुँदा र नीतिगत कमजोरीले प्रकोप बढेको हो ।”

रोग नियन्त्रणका लागि खोपको अभाव पनि चुनौती बनेको अधिकारीहरू बताउँछन् । प्रदेशको पशु सङ्ख्याको आधारमा कम्तीमा ८ देखि १० लाख डोज खोप आवश्यक पर्नेकोमा हालसम्म पशु सेवा विभागबाट जम्मा ४ लाख डोज मात्र प्राप्त भएको छ ।