

काठमाडौं । जनमत पार्टीले पार्टी विरोधी गतिविधिमा संलग्न नेता तथा कार्यकर्ताहरूको नामावली केन्द्रमा पठाउन सबै जिल्ला इन्चार्जलाई निर्देशन दिएको छ।
पार्टी अध्यक्ष डा. सीके राउतका अनुसार अनुशासन उल्लङ्घन गर्ने व्यक्तिहरूको नाम प्रमाणसहित संकलन गरी पार्टी केन्द्रमा पठाइनेछ। पार्टी सचिवालयद्वारा बुधबार जारी पत्रमा भनिएको छ, “पार्टी विरोधी गुट, बैठक वा पोस्टहरूमा संलग्न सदस्यहरूको विवरण नियमित रूपमा केन्द्रमा पठाउनुहोला।”
पार्टीले अबदेखि कुनै पनि सदस्यले पार्टी निर्णयविपरीत काम गरेमा तत्काल कारबाही अघि बढाउने नीति लिएको छ। साथै, कुनै पनि लाभको पद वा उम्मेदवारीको हकमा अनुशासन सफाइ प्रमाणपत्र आवश्यक पर्ने व्यवस्था गर्न लागिएको जनाइएको छ।
जनमत पार्टीले आन्तरिक अनुशासन बलियो बनाउँदै पार्टी एकता र नीतिगत कठोरता सुनिश्चित गर्न सो कदम चालेको हो।