

काठमाडौं । भिजिट भिसा प्रकरणको संसदीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू संसद बैठकबाट आज पनि बाहिरिएका छन्।
गत जेठ १३ गतेदेखि निरन्तर विरोध गर्दै आएका यी दुई दलका सांसदहरूले आजको प्रतिनिधिसभा बैठकमा पनि आफ्ना कुरा राखेपछि बहिर्गमन गरेका हुन्। बैठकमा रास्वपाका सांसद तथा प्रवक्ता मनीष झा र राप्रपाकी सांसद रोशन कार्कीले आ–आफ्ना धारणा राखे। सांसद झाले भिजिट भिसा प्रकरण र कुलिङ पिरियडमा देखिएको अनियमितताप्रति सरकारको गम्भीरता नदेखिएको आरोप लगाए। उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको नैतिक जवाफदेहिता उठाउँदै राजीनामा मागे।
‘राज्य व्यवस्था समितिका सभापति माथि नैतिक प्रश्न उठेका छन्, तर उही व्यक्तिले बैठक सञ्चालन गरिरहनु नालायकीपन हो,’ उनले भने। त्यस्तै, सांसद कार्कीले संसद्को मर्यादाप्रति प्रश्न उठाउँदै, आन्दोलनरत सांसदहरू हुँदाहुँदै बैठक किन सञ्चालन गरिरहेको भन्नेमा सभामुखलाई प्रश्न गरिन्।
‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति?’, उनले भनिन्, ‘हामीहरू आन्दोलित हुँदा संसदको निरन्तरता कसरी सम्भव हुन्छ?’
रास्वपा र राप्रपाले भिजिट भिसामा देखिएको अनियमितता, कुलिङ पिरियडको चलखेल र नैतिक प्रश्न उठेका विषयमा निष्पक्ष छानबिनको माग गर्दै आएका छन्।