

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ।
कुलिङ अफ पिरियडको व्यवस्थालाई लिएर भएको चलखेलबारे संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि रास्वपाले खतिवडा पदमा बसिरहन नैतिकता गुमाएको ठहर गरेको हो।
रास्वपा प्रवक्ता मनिष झाले बुधबार पार्टी सचिवालय बैठकको निर्णय सुनाउँदै भने, “समितिको प्रतिवेदन अनुसार समिति सभापति दोषी हो। उहाँले नैतिकता देखाउनुपर्दछ। यस्तो काम गरेर नालायकी देखाएर बस्नु भन्दा राजीनामा दिनुपर्दछ भन्ने हाम्रो बुझाइ हो।”
कांग्रेस सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा गठित संसदीय विशेष समितिले मंगलबार संसदमा पेश गरेको प्रतिवेदनमा समितिका सभापति खतिवडा समेत जिम्मेवार रहेको ठहर गरिएको छ।
यसअघि उक्त समितिले संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड व्यवस्थालाई हटाउने प्रयासमा उच्च प्रशासनिक तहका अधिकारीहरूको संलग्नता रहेको उल्लेख गरेको थियो।
रास्वपाले प्रतिवेदनअनुसार जिम्मेवार ठहरिएका सभापति खतिवडाले तत्काल राजीनामा दिनुपर्ने दबाब दिएको हो।