यू–२० महिला एसियन कप छनोट, नेपालले आज भुटानसँग खेल्दै

यू–२० महिला एसियन कप छनोट, नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । नेपालको महिला यू–२० टिम पहिलो पटक एएफसी यु–२० महिला एसियन कप खेल्ने लक्ष्यसहित भुटान पुगेको छ। आजबाट भुटानको थिम्पुमा सुरु हुने छनोट चरणको समूह ‘ए’ मा नेपालले आफ्नो अभियान घरेलु टोली भुटानविरुद्धको खेलबाट सुरु गर्दैछ। खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ।

नेपालका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले प्रतियोगिताको पूर्वसन्ध्यामा आफ्नो टिम एसियन कपको मुख्य चरणमा छनोट हुनेमा पूर्ण विश्वास रहेको बताए। “हामी तयारीसाथ आएका छौँ, टिमको मनोबल उच्च छ र लक्ष्य क्लियर – हामी एसियन कप खेल्न चाहन्छौं,” गुरुङले भने।

समूह ए मा नेपालसँगै बलियो उत्तर कोरिया र साउदी अरब पनि छन्। यी दुई प्रतिस्पर्धी टिमलाई हराउन चुनौतीपूर्ण भए पनि नेपालले आत्मविश्वासका साथ समूह विजेता वा उत्कृष्ट उपविजेता बन्ने लक्ष्य लिएको छ।

३२ राष्ट्र सहभागी छनोट चरणमा ८ समूह छन्। प्रत्येक समूहको विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता गरी कुल ११ टिमले थाइल्यान्डमा २०२६ मा हुने एएफसी यु–२० महिला एसियन कपको लागि छनोट हुनेछन्।

नेपालले भर्खरै सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै भुटानलाई दुबै खेलमा फराकिलो जित निकालेको थियो, जसले नेपाललाई थप हौसला दिएको छ।

नेपालको महिला फुटबल टोलीको यो अभियान राष्ट्रिय स्तरमै ऐतिहासिक मानिएको छ, जसले भविष्यमा महिला फुटबलको विस्तार र प्रेरणा दुवै प्रदान गर्ने अपेक्षा गरिएको छ।