

जनकपुरधाम । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा मदिरा तस्करीमा संलग्न समूह र प्रहरीबीच भएको झडपमा गोली लागी एक जनाको ज्यान गएको छ।
गोप्य सूचनाका आधारमा प्रहरीले अवैध रुपमा भारत तर्फ मदिरा तस्करी भइरहेको थाहा पाएपछि कमलपुर पुगेको थियो। त्यही क्रममा तस्कर समूहले प्रहरीमाथि ढुंगामुढा गर्दै आक्रमण गरेको प्रहरी स्रोतको भनाइ छ।
आक्रमणपछि आत्मरक्षार्थ प्रहरीले गोली चलाउँदा स्थानीय ३५ वर्षीय लालु यादवको तिघ्रामा गोली लागेको थियो। उनलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्याइएको भए पनि उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले पुष्टि गरेका छन्।
घटनामा एक जना प्रहरी पनि ढुंगामुढाबाट घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीको कारबाहीपछि तस्करहरू केही कार्टुन मदिरा छाडेर भागेका थिए, जसलाई प्रहरीले बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।