

आवाजा (तुर्कमेनिस्तान) । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको सहर अवाजामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज विविध कार्यसूचीमा सक्रिय रहने भएका छन्।
प्रधानमन्त्री ओलीले आज ‘जलवायु परिवर्तनका कारण सिर्जिएका प्रकोपमा भूपरिवेष्टित राष्ट्रहरूले अवलम्बन गर्ने अनुकूलन क्षमता र लचिलोपन’ विषयक छलफल सत्रमा सम्बोधन गर्ने छन्। यस्तै, ‘व्यापार र वाणिज्यको सहजता तथा क्षेत्रीय सहकार्य’ विषयक अर्को सत्रमा प्रधानमन्त्री ओली सह-अध्यक्षको भूमिकामा रहने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओलीले आजै काजकस्तान, अजरबैजान र ताजकस्तानका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता पनि गर्नेछन्। तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली साउन २० गतेदेखि २३ गतेसम्मको सम्मेलनमा सहभागी हुन अवाजा पुगेका हुन्।
अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकाका ३२ भूपरिवेष्टित विकासशील मुलुकहरूको सहभागिता रहेको यो सम्मेलनमा समुद्रमा प्रत्यक्ष पहुँच नहुने अवस्थाका कारण भोगिरहेका आर्थिक र भौतिक समस्याहरू, क्षेत्रीय अलगाव, व्यापारिक कठिनाइ, पारवहन लागत र पूर्वाधार अभावका विषयमा गम्भीर छलफल भइरहेको छ।
भूपरिवेष्टित देशहरूका लागि अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न, पारवहन प्रक्रिया सरल बनाउने, यातायात पूर्वाधार विकास गर्ने, र अन्तरराष्ट्रिय बजारसम्म पहुँच सहज बनाउन रणनीतिक साझेदारी र लगानी विस्तारको आवश्यकता सम्मेलनको मूल एजेण्डा बनेको छ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, परराष्ट्र सचिव अमृतबहादुर राई तथा उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी छन्।
एलएलडिसीहरूको समस्या समाधानका लागि सम्मेलनले नवीन सोच, दीर्घकालीन नीति, अन्तरराष्ट्रिय सहयोग र लगानीमार्फत ती देशहरूको पूर्ण सम्भावनालाई उपयोग गर्दै दिगो र समावेशी विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
यसअघि सन् २०१४ मा अस्ट्रियाको भियनामा सम्पन्न दोस्रो सम्मेलनले ‘अल्माटी कार्ययोजना’को समीक्षा गर्दै व्यापार र पारवहन क्षेत्रमा साझेदारी विस्तार तथा नीति सुधारको मार्गचित्र तय गरेको थियो। यो तेस्रो सम्मेलनले त्यसको निरन्तरता दिँदै नयाँ यथार्थ र चुनौतीसँग जुध्न रणनीति तय गर्दैछ।