बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ

हेटौंडा । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ गराए।

नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति समेत रहेका बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुन्। उनले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा संयुक्त सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।

११० सदस्यीय प्रदेशसभामा कांग्रेस र एमाले गरी ६४ सांसदको समर्थन बानियाँलाई प्राप्त छ।

मकवानपुर निवासी बानियाँभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।